प्रोफाइल

कुल आचार्यको एनआरएन यात्रा : संसारभरका नेपालीहरुको मायाभन्दा ठूलो अर्को कमाइ हुन्छ र ?

image

काठमाडौं : भगवान गौतम बुद्धले भनेका छन्, ‘अर्काले के भन्यो भनेर चित्त दुखाउनु हुँदैन, जोसँग जे छ त्यही दिने हो, कसैलले पनि आफूँसँग नभएको चिज दिन सक्दैन, नभएको ज्ञान बाँड्न सक्दैन।’ त्यतिमात्रै होइन, ‘संसारमा दुःख छ, दुःख बुझ्न र भोग्न सक्नेले मात्रै सुख प्राप्ति गर्न सक्दछ । दुःख भोग्दै नभोगेको व्यक्तिलाई सुखको महत्व पनि थाहा हुँदैन।’

प्रसंग आफ्नै मेहनत र संघर्षले आफूलाई सफल सावित गरेका व्यवसायी तथा अभियन्ता कुल आचार्यको हो । उनी आफूलाई सफल भएको अझै ठान्दैनन् । तर, उनको विगत र वर्तमानलाई राम्ररी बुझ्नेहरुले ‘‘इमान्दारिता, संघर्ष र मेहनतका कारण सफलताको छलाङ मारेका व्यक्ति’का रुपमा बुझ्ने गरेका छन् ।    

झण्डै डेढ दशकदेखि संसारभर फैलिएका नेपालीहरुलाई नेपालसँग जोड्ने अभियानमा संलग्न आचार्यसँग जुन संस्कार, चेतना र संघर्षशील स्वभाव छ, त्यसको जग उनकै परिवार हो अनि त्यसको पहिलो विश्वविद्यालय पनि।

पण्डित पिताजीका आधुनिक पुत्र 

ज्योतिष पण्डित धर्मनाथ उपाध्याय । पर्वत धाइरिङका धर्मनाथ वरपरका जिल्लामासमेत परिचित थिए । चिना लेख्ने, भविष्यफल हेर्ने, कर्मकाण्ड चलाइदिने मात्रै नभई आर्थिक समस्यामा परेका छिमेकीका गर्जो टारिदिने धर्मनाथको घरमा कुनै दिन पाहुना खाली हुँदैनथे । 

संस्कृतका विद्वान धर्मनाथको परिवारमा २०२९ साल जेठ ३ गते एउटा खुसी छायो । धर्मनाथ र उनकी पत्नी नन्दकलालाई पुत्र प्राप्ति भयो । उपाध्याय परिवारमा जेष्ठ पुत्रको रुपमा खुसी भित्र्याउने शिशु थिए, कुल । 

गाउँका सन्ततीलाई पढाउनुपर्छ भन्ने बलियो चेत थियो, धर्मनाथमा । त्यसैले उनले गाउँमै कृष्ण भवन प्रावि(हाल उच्चमावि) स्थापना गरेका थिए । धर्मनाथले छोरा कुललाई नपढाउने त कुरै भएन । छोरा कुल पनि विस्तारै विद्यालय भर्ना भए । तर, त्यतिबेलासम्म उनले पिताजीबाट संस्कृत शिक्षा लिइसकेका थिए । ‘नौ वर्षको उमेरमा नै मैले वेद तथा चण्डी पाठ गर्न लागिसकेको थिएँ’ उनले आफ्नो वाल्यकाल सम्झिए । 

स्कुल पढ्दै गर्दा कुललाई संस्कृत पढ्ने इच्छा जाग्यो । उनी स्कुल जानै छोडिदिए र वृन्दावन गएर संस्कृत पढ्ने भन्दै पितालाई सताउन थाले । तर, पिताजी धर्मनाथ भने कम्तीमा एसएलसीसम्मको शिक्षा नेपालकै विद्यालयबाट दिलाउन चाहन्थे । ‘पिताले एसएलसी पास गरेपछि संस्कत पढौला भनेर विश्वास दिलाउनुभयो, त्यसपछि मात्रै स्कुल जान थाले’ आचार्य भन्छन् । 

हिजोआज जस्तो सजिलो थिएन उतिबेला पढ्न । तीन वटा विद्यालय चाहरेपछि मात्रै उनी एसएलसी परीक्षा दिने मौका पाए कुलले । एसएलसी अघि टेस्ट परीक्षा पनि दिनुपथ्र्यो ।

No description available.

दुर्भाग्य ! जुन दिन टेस्ट परीक्षाको नतिजा सार्वजनिक हुने दिन थियो, त्यही दिन पिताजी धर्मनाथ परमधामको यात्रामा निस्किए । पिताजीको स्वर्गारोहणसँगै कुलको ‘एसएलसीपछि संस्कृत पढ्न वृन्दावन जाने’ योजनामा पूर्णविराम लाग्यो । 

घरको जेठो छोरो । भाइ दधि सानै थिए । परिवारको जिम्मेवारी उनमै थपियो । पिताजी तीन महिना बिरामी पर्दा उपचारका लागि निकै ठूलो खर्च भयो, ऋणको भार पनि थपियो । एसएलसीपछि परिवारको गर्जो टार्न नजिकैको देउराली प्राविमा निजी श्रोतमा अध्यापन गर्न थाले । मासिक तलव थियो जम्मा ४ सय । ऋणले मिचिएको परिवारको भरथेग गर्न यो पनि ठूलै सहारा बन्यो । 

No description available.

बाग्लुङको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । ‘गाउँमा पढाउनुपथ्र्यो, क्याम्पस त फर्म भर्न र परीक्षा दिन मात्रै जाने गर्थेँ’ उच्च शिक्षाका लागि भोगेको समस्या सुनाए । पढाइ पनि अगाडि बढाए, जागिर पनि सँगसँगै । शिक्षाप्रेमी पिताजी धर्मनाथका पुत्र कुललाई पनि गाउँमै अर्को विद्यालय खोल्ने इच्छा जाग्यो, उनकै अगुवाइमा स्थापना भयो ‘ज्योति प्रावि’ । ज्योतिका अवैतनिक शिक्षक पनि थिए, उनी । 

त्यही बीचमा बिहे गरेका कुलको जीवनले २०५५ सालमा भने फरक मोड लियो । 

१० लाख कमाउन बेलायतको यात्रा 

मेहनत गरेकै थिए तर, परिवार आर्थिक संकटबाट मुक्त हुन सकेको थिएन । पैसा कमाउने र गाउँमै केही व्यवसाय गरेर बस्ने उनको चाहना थियो । आफूसँग १० लाख रुपैयाँ भए ‘बिजनेश’ गर्न सक्ने योजना मनमनै बुनिरहेका थिए । तर, यतिधेरै पैसा कहाँबाट ल्याउने ? 

ठीक त्यति नै बेला उनले लण्डन जाने अवसर पाए । ‘दश लाख कमाउँछु र आएर व्यवसाय गर्छु भन्ने सोँचेको थिएँ,’ उनले भने ‘अहिलेसम्म कति कमाएँ त्यसको हिसाव छुट्टै होला, तर, मलाई गाउँ फर्काउने त्यो दश लाख अहिलेसम्म पूरा भएको छैन।’

आर्थिक अभाव झेलेका कुललाई पैसाको महत्व राम्ररी थाहा थियो । त्यसैले लण्डन पुगेपछि उनले आफूलाई काममै समर्पित गरे । ‘मैले एकै दिन चार वटा सम्म काम गरेँ, कामलाई सानो वा ठूलो भन्ने नजरले कहिल्यै हेरिनँ’ बेलायत बसाइका सुरुवाती दिनका बारेमा बेलिविस्तार लगाए । 

‘यूकेमा राम्रो शेफ हुन सकेमा कहिल्यै खाली बस्नु पर्दैन, तलव पनि आकर्षक नै हुन्छ भन्ने थाहा पाएँ, उनले भने, त्यसैले किचन पोर्टरका रुपमा एउटा इण्डियन रेस्टुरेन्ट (रुची) मा काम गर्न गएँ । हाल बेलायतकै एक जना प्रख्यात शेफको उपमा पाएका कुलको रेस्टुरेन्ट यात्रा यहीँबाट शुरु भएको थियो । 

तीन महिनामै आफुलाई शेफका रुपमा परिस्कृत गरेका कुलले लण्डनकै प्रख्यात रेस्टुरेन्ट ‘बम्बई बाइसाइकल क्लब’ मा हेड शेफको जागिर पाए । अब भने उनको जीवनमा सुनौला क्षणहरु भित्रिन थाले । त्यही बीचमा पनि उनले भिन्न भिन्न काम गरिरहेका थिए । 

बम्बई बाइसाइकलमा काम गर्दै गर्दा कम्पनी नै बिक्री भयो । बेलायतकै एक ठूलो कम्पनीले बाइसाइकल  अन्तर्गतका ६ वटै रेस्टुरेन्ट खरिद गर्यो । तर, त्यसले उनलाई सफलता नै मिल्यो । उत्कृष्ट शेफका रुपमा उनी छानिए । 

मेहनत गर्थे । उनी खाना बनाउँथे । तर, त्यतिमै सीमित हुँदैनथे । उनी बेला बेलामा पाहुनाहरुसँग आफुँले बनाएको खाना कस्तो लाग्यो ? भनेर सोधपुछ पनि गर्थे । एक दिन यस्तो संयोग पर्यो कि, बेलायतको चर्चित पत्रिका ‘इभिनिङ स्टाण्डर्ड’का लेखक खाना खान आएका रहेछन् । ती लेखकले कुलले बनाएको ‘प्राउन’को पाककलाका बारेमा सोधे । उहाँले सोध्नु भयो, मैले किचनमै लगेर देखाइदिएं, आचार्यले भने, उहाँले उक्त पत्रिकामा रिभ्यु लेख्नु भएछ, मेरो तस्वीर पनि छ । 

‘इभिनिङ स्टाण्डर्डले बेस्ट रोल अफ दि इयर’ शीर्षकमा प्रकाशन गरेको रिभ्युले आचार्यको चर्चा चुलियो । ‘२००४ को डिसेम्बर १ र २२ मा छापिएको त्यो रिभ्यूले मेरो जीवनमा अतिकति नयाँ मोड र उत्साह जाग्यो, त्यसपछि मलाई जीवनमा केही गर्नुपर्छ भन्ने सोँच पनि जागेर आयो ।’

त्यही चर्चा, जोश र सोँचसहित उनी नयाँ अध्याय आरम्भमा लागे । 

अनि शुरु भयो ‘होलीकाउ’

शेफ जागिरमा जमेका कुलले केही समयमै जागिर छाडे । उनले जागिर छाड्नुको उद्देश्य थियो, अब आफैंले केही गर्नुपर्छ भन्ने । २००५ मा जागिर छाडेका कुल २००६ को मार्चमा आफ्नै ब्राण्ड ‘होलीकाउ’ सहित लण्डनको रेस्टुरेन्ट बजारमा उदाए । यो ब्राण्डमा लण्डनमा मात्रै अहिले ८ वटा शाखा छन् । 

होलीकाउ सन्चालन गरेपछि केही समस्या पनि थपिए, चुनौति पनि आए तर ती सबै चुनौति पार गरेँ, उनले ती दिन सम्झिए । ‘ब्रेड एण्ड बटर नै हो’ उनले आफ्नो व्यवसायबारे स्पष्ट पारे । 

लण्डनमा होलीकाउ ब्राण्ड स्थापित गर्न सफल आचार्यले बेलायतमै रियल स्टेटको बिजनेस पनि सञ्चालन गरिरहेका छन् । अर्को योजना पनि अगाडि सारेका छन्, नयाँ ब्राण्डको नाममा, डोनर केभ अर्थात ओढारको कबाब । अन्तिम चरणमा पुगेको छ, छिट्टै सन्चालनमा आउने छ, व्यावसायिक योजना सुनाए । 

व्यावसायिक यात्रामा एकपछि अर्को सफलता प्राप्त गर्दै गएका आचार्य सामाजिक काममा पनि उत्तिकै सहभागी हुन्थे । यूरोपमै सबैभन्दा बढी नेपाली बसोवास गर्ने देश बेलायत । नेपालको गाउँमा नै सामाजिक काममा सक्रिय हुने बानी परिसकेका उनी त्यहाँ पनि सामाजिक काममा अग्रसर नै हुन्थे । उनका लागि समाजसेवाको फराकिलो क्षेत्र गैरआवासीय नेपाली संघ (एनआरएनए) नै थियो । 

No description available.

मन्दिरको त्यो वाचाः जसले शुरु गरायो एनआरएनएको यात्रा 

सन् २००३ मा गैरआवासीय नेपाली संघको घोषणा आचार्य लण्डनमै थिए । प्रवासी नेपालीहरुका केही अगुवाहरुले देश बाहिर रहेका नेपालीहरुलाई देशसँग जोड्ने उद्देश्यसहित लण्डनबाटै एनआरएनएको घोषणा गर्दा उनलाई थाहा नहुने कुरै थिएन । 

आचार्य त्यतिबेला ‘करियर’ सुरुवाती चरणमा भएकाले पदीय जिम्मेवारीमा रहन सक्ने अवस्था थिएन । अभियानमा सहभागी हुन्थे, सहयोग गर्थे । 

चिरन्जीवी ढकाल, एनआरएनएका संस्थापक सचिव । ढकाल र आचार्य अत्यन्त मिल्ने साथी पनि । 

ढकाल एक दिन लण्डनकै एउटा मन्दिर जाँदै थिए । उनले आचार्यलाई पनि बोलाए । मन्दिर दर्शनपछि ढकालले आचार्यलाई भने ‘तपाईं अब एनआरएनमा आउनु पर्‍यो।’ त्यतिबेलासम्म आचार्य एनआरएनएमा पदीय जिम्मेवारीसहित जाने योजनामा थिएनन् । दुई जनाबीच गम्भीर छलफल भयो । 

एनआरएन यूकेको अधिवेशन नजिकिँदै थियो । दुई जनाबीच एउटा खाका नै तयार भयो । २००७–२००९ मा कार्य समिति बन्ने, त्यसपछि उपाध्यक्ष र अध्यक्ष बन्ने । त्यही खाका अनुसार नै आचार्य २००९–२०११ मा निर्विरोध उपाध्यक्ष छानिए र २०११–२०१३ का लागि अध्यक्ष नै चुनिए । यसमा ढकालको नेतृत्वदायी भूमिका रह्यो भने बेलायतवासी नेपालीहरु सम्बद्ध विभिन्न संघ संस्थाका अगुवाहरुले पनि साथ दिए । 

मन्दिरको आँगनमा उभिएर ढकाल र आचार्यका बीचमा जुन सल्लाह भएको थियो, त्यही सल्लाहले आचार्यलाई एनआरएनएको विश्वव्यापी नेतृत्व गर्ने सम्मको अवस्थामा ल्याइदिएको छ । 

‘एनआरएनए छाता संगठन होइन, साझा संगठन हो’ आचार्यको प्रष्ट विचार छ । उनले एनसीसी यूकेको नेतृत्व सम्हाल्दा नै उनले यसलाई पुष्टि गर्ने काम गरिसकेका छन् । 

जुम्लाको सानीगाउँमा प्रसुती गृह स्थापना, बेलायतमा पत्रकार अक्षय कोषको स्थापना र २०१२मा बेलायतमा आयोजित लण्डन ओलम्पिकमा नेपालका पहिलो धावक भुपेन्द्र सिलवाललाई बेलायतमै लगेर गरेको सम्मान जस्ता कामले आचार्यको क्षमतामात्रै देखिएन, उनको भिजन र कार्यशैलीको चर्चा पनि चुलियो । 

त्यसपछि शुरु भयो आइसीसी यात्रा 

एनसीसी यूकेको नेतृत्व गरी क्षमता र भिजन देखाइसकेका आचार्य केही समय पदीय जिम्मेवारीबाट बाहिरै बस्न चाहन्थे । तर, पाएनन् । आइसीसी अध्यक्ष बने डा. शेष घले । घलेले उनलाई आइसीसी सदस्यमा मनोनित गरिहाले । 

आइसीसी सदस्यसँगै आचार्यलाई च्यारिटी डिपार्टमेन्टको सहसंयोजकको जिम्मेवारी पनि दिइयो । एनआरएनएको पहिलो काम नै च्यारिटी थियो । च्यारिटी परफर्मेन्समा आचार्य निपूर्ण थिए । पहिलो जिम्मेवारी मै उनले १४ करोडको च्यारिटीको काम गरे । 

२०१३–२०१५ कार्यकाल सकियो । २०१५–२०१७ मा उनी यूरोप क्षेत्रीय संयोजक चुनिए । 

यूरोप संयोजक रहेका बेला संघका विषयगत मुद्दामा आचार्यले समूहगत छलफलको अवधारणा कार्यान्वयनमा ल्याए । ‘एकजनाले बोल्ने अरुले सुन्ने परम्परा थियो, मैले समूहगत छलफलको अवधारणा ल्याएँ, कोपनहेगन सम्मेलनमा यसको सफल अनुशरण भयो’ आचार्यले बताए । 

संघले लगानीको क्षेत्रमा हात हाल्नुपर्छ भन्ने धारणा राख्ने आचार्यकै पहलमा ‘एनआरएन माइक्रो फाइनान्स’ स्थानपना भयो । यही अवधारणाको विस्तारित रुप हालको इन्भेष्टमेन्ट बोर्ड र विकास कोष हो । 

यूरोप संयोजकको रुपमा दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका आचार्य २०१७–२०१९ मा आइसीसी उपाध्यक्ष छानिए । 

तत्कालिन अध्यक्ष शेष घलेले अगाडि सारेको ‘भिजन २०२० एण्ड बियोण्ड’ एक समर्थक हुन् आचार्य । स्पष्ट अवधारणा सहित काम गर्नुपर्छ भन्ने मान्यता राख्ने आचार्यको जिम्मामा पर्यो शंखमुल पार्क । एनआरएनएले बनाउँदै गरेको शंखमुल पार्क निर्माण परियोजनाको दायित्व आचार्यमा पर्यो । 

लण्डनमा बस्ने आचार्य आफ्नो दायित्व पूरा गर्न काठमाडौं धाउन थाले । पार्क निर्माण पूरा गर्नु एउटा तत्कालिन जिम्मेवारी थियो भने कालान्तरसम्म त्यसको संरक्षणको उपाय खोज्नु अर्को चुनौति थियो । 

‘शंखमुल पार्क बनाउने क्रममा म एक दिनमा पन्ध्र घण्टासम्म पार्कमै उभिएको छु’ आचार्यले आफ्नो भोगाइ सुनाए । 

काममा हात हालेपछि आफ्नै विधिबाट फत्ते गर्ने र नमुना प्रस्तुत गर्ने आचार्यको बानी नै बसेको छ । अन्य भन्दा फरक कार्यशैलीका आचार्यलाई कामले पछ्याइरह्यो, उनले पूरा गर्दै गए । देश त बुझेकै थिए, संसार पनि चिन्ने मौका पाए । ‘जहाँ नेपाली त्यहाँ एनआरएनए भनेजस्तै जहाँ एनआरएनए त्यहाँ कुल आचार्य’ भन्ने मान्यता स्थापित गर्न लागे । संघका अधिकांश एनसीसीहरुको भ्रमण गरी अवस्था बुझेका आचार्य यतिबेला नेतृत्व लिने तरखरमा छन् । 

No description available.

अध्यक्षका प्रत्यासी आचार्यका आफ्नै एजेण्डा 

२०१९–२०२१ कार्यकालमा नै आचार्यले संघको नेतृत्व लिने प्रयास गरे । तर, त्यसमा भने उनलाई सफलता मिलेन । केही आन्तरिक कारण थिए, केही अग्रज अभियन्ताहरुको असहिष्णु मानसिकताको कुरा थियो । 

नेतृत्व सम्हाल्न नपाएकोमा उनको कुनै चित्त दुखाइ थिएन । आइसीसीको सल्लाहकारको रुपमा निरन्तर काममा लागि नै रहे । कार्य समितिमा हुँदा भन्दा बढी दायित्व र जिम्मेवारी बोध थियो । कोभिड महामारीको समस्या अर्कोतिर । उनी निरन्तर सक्रिय भइरहे । आफ्ना र संघका मुद्दा निरन्तर उठाइरहे । 

संसारभर फैलिएका प्रवासी नेपालीलाई मातृभूमिसँग जोड्ने उनको अभियान पूरा भएकै छैन । मातृभूमिको विकास र समृद्धिका लागि एनआरएनले निर्वाह गर्नुपर्ने भूमिका र दायित्व अझ बढ्दै गएको छ । कोभिड महामारीले अर्को पाठ सिकाएको छ । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरुको समस्या अझ झाँगिएको छ । यी र यस्तै समस्या समाधान गर्न आचार्य २०२१–२०२३ का लागि आइसीसीको नेतृत्व लिने तयारीमा छन् । 

आफ्नै कार्यशैली, समन्वयकारी भूमिका र संसारभरका नेपालीहरुको साथ, आशा तथा भरोसाका कारण उनी नेतृत्वको आकांक्षी देखिएका हुन् । भन्छन्, ‘संसारभरका साथीहरुको चाहना मैले नेतृत्व गरोस् भन्ने छ, पछाडि हट्ने छुट नै रहेन।’

संघलाई स्पष्ट कार्ययोजनासहित पारदर्शी रुपमा अगाडि बढाउने, संविधान प्रदत्त एनआरएन नागरिकता र सम्पत्तिको अधिकारलाई व्यवहारमा स्थापित गर्ने, नेपालमा वैदेशिक लगानी वृद्धि गर्दै पूर्वाधार तथा पर्यटन क्षेत्रको विकासमा सरकारसँग हातेमालो गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानित गराउने, वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई जानुअघि नेपालमै सीपमूलक तालिम दिने, वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सीपका आधारमा स्वदेशमै स्वरोजगारमूलक व्यवसाय सञ्चालनमा सहयोग गर्ने, विदेशमा रहेको नेपाली ज्ञान, सीप र पूँजीलाई स्वदेशको विकासमा ससम्मान सहभागी गराउने उनका योजना छन् । 

‘हामीले गर्नुपर्ने कामको सूची लामो छ, त्यसलाई प्राथमिकता निर्धारण गरेर अगाडि बढ्नु जरुरी छ, आचार्य भन्छन् । ठूलो कुरा विदेशमा रहेका नेपालीहरुलाई देशसँग जोड्ने विषय हो, यसमा सबैले ध्यान दिनुपर्छ, नेपाल सरकार र यहाँका राजनीतिक दलहरु पनि यसमा गम्भीर हुनुपर्छ, ‘आचार्यको बुझाइ छ । 

‘यी मुद्दा मेरा मात्रै होइनन्, प्रवासमा रहेका ८० लाख नेपालीका मुद्दा हुन् । मैले त यी मुद्दा बोलेको मात्र हुँ । यिनै मुद्दालाई सुल्झाउनका लागि नेतृत्वमा पुग्ने मेरो चाहना हो,’ आफ्नो उम्मेदवारीको उद्देश्य खुलाए । 

संघको नयाँ नेतृत्व छान्न आगामी अक्टोबरमा चुनाव हुँदै छ । अक्टोबर २३–२५ मा हुने दशौं विश्वसम्मेलनले नयाँ नीति र नेतृत्व तय गर्ने छ । स्पष्ट नीति र कार्ययोजनासहित नेतृत्वको होडमा लागेका आचार्य आफ्नो नीति र नेतृत्व दुवै स्थापित हुनेमा विश्वस्त छन् । उनी यसरी विश्वस्त हुनुको कारण पछिल्लो पटक संसारभरका एनसीसीहरुको निर्वाचनमा उनको पक्षमा देखिएको लहर नै हो । 

आचार्यको सूत्रः समुदायसँगको साझेदारी 

एनआरएनएलाई साझा संस्थाको रुपमा स्थापित गर्ने अभियानमा लागेका आचार्य यसलाई व्यवहारबाटै प्रमाणित गर्ने योजनामा छन् । नेपालको भूगोलभित्र रहेका नेपाली हुन् वा भूगोल बाहिरका नेपाली हुन्, सबैलाई एउटै मालामा गाँस्ने सूत्र भनेको निर्णय, कार्यान्वयन र संरक्षण लगायतका प्रक्रियामा उनीहरुको सहभागिता नै हो । 

एनसीसी यूकेको नेतृत्व सम्हालेदेखि यूरोप क्षेत्रको संयोजक हुँदै आइसीसीमा रहेर काम गर्दा उनले जुन शैली र सूत्र अवलम्बन गरे, सबैको यसको अनुशरण पाइन्छ । 

जुम्लामा प्रसुती गृह स्थापना गर्दा नर्सिङ एसोसिएसन र स्थानीयवासीसँग उनले गरेको साझेदारी, पत्रकार महासंघ यूकेमा अक्षयकोष स्थापना गर्दा महासंघसँग गरेको साझेदारी, शंखमूल पार्क निर्माण र त्यसको संरक्षणका लागि ललितपुर महानगर र स्थानीय वडासँग गरेको साझेदारी तथा सहभागिता सफल उदाहरण हुन् । अन्य च्यारिटीका आयोजनामा पनि आचार्यले यही सूत्र अपनाएका छन्, जसबाट अपेक्षा भन्दा बढी उपलब्धि हासिल भएको छ । 

जसका लागि काम गर्ने उनीहरुको सहभागिता र साझेदारी बिना सफल हुन सकिँदैन, उनी भन्छन्, सहभागिताको अर्थ ठूलो रहन्छ । संघले बनाएको शंखमुल पार्कको संरक्षणको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा नेपाल सरकारसँग पनि निकै छलफल गर्नुपर्यो, ललितपुर महागरलाई दिनुपर्छ भन्ने उनको स्पष्ट धारणा थियो, अन्त्यमा त्यसैमा सहमति जुट्यो । उनको यही नीतिका कारण शंखमुल पार्क अहिले पनि सुन्दर छ । 

एनआरएन अभियानमा झण्डै दुई दशकदेखि सक्रिय आचार्यले के पाए, के गुमाए ? पाउनु र गुमाउनु कसैको वशमा हुँदैन । यसलाई सम्पत्ति, धन र दौलतमा पनि तुलना गर्न सकिँदैन । उनको बुझाइ छ ‘संसारभरका नेपालीहरुको जुन माया पाएको छु, यो भन्दा ठूलो अरु केही हुन्छ र ? यसलाई अरु भौतिक विषयसँग दाँज्न मिल्छ र ?’