‘एक एनआरएन एक रोजगार’ अभियान

समाचार/अन्तर्वार्ता

भारत बाहेकका मुलुकहरुमा झन्डै ६० देखि ७० लाख नेपालीहरु बसोबास गरिरहेको ठानिन्छ । उनीहरुमध्ये रोजगारी गुमाएका, गर्भवती, बिरामी नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने जिम्मेवारी राज्यको हो । सर्बोच्च अदालतको आदेश बमोजिम बेखर्ची भएका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन अनुरोध गर्दै मैले प्रधानमंत्री केपी शर्मा ओलीलाई एक पत्र पनि लेखेको थिएँ।  साथसाथै नेपाल फर्कदै गरेका प्रवासी नेपालीहरुलाई कसरी समुदायमा पुनर्स्थापन गर्ने, कसरी उनीहरुको आजीविकाको व्यवस्था गर्ने भन्ने अरु ठूलो चुनौती छ।  यसबारे केहि चर्चा गर्न चाहन्छु। 

के हो ‘एक एनआरएन एक रोजगार अभियान’

नेपाल सरकारका अनुसार झन्डै ४० लाख नेपाली खाडी मुलुकहरु, मलेसिया तथा कोरियामा काम गर्छन।  यसबाहेक भारतमा झन्डै १५ लाख नेपालीहरु काम गर्ने अनुमान गरिएको छ।  ती मध्ये कोरोन संक्रमणका कारण जागिर गुमाएका १५ देखि २० लाख नेपालीहरु स्वदेश फर्कन सक्ने अनुमान गरिएको छ।  नेपालमा हरेक वर्ष ५ लाख नेपाली युवा श्रम बजारमा आउने अध्ययनहरुले देखाएका छन् जसमध्ये अधिकांश तेश्रो मुलुकमा कामको खोजिमा जाने गरेका थिए । अब उनीहरुको लागि पनि स्वदेश मै रोजगारी खोज्नु पर्ने अवस्था  आएको छ।

Kul Acharya

कोरोना संकटका कारण लाखौं नेपालीहरु स्वदेश फर्किए पनि युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, दक्षिण कोरिया, जापान लगायतका मुलुकहरुमा झन्डै बीस लाख  नेपालीहरु  बसोबास गरि रहनु हुने छ।  उहाँहरुले आआफ्नो ठाउँबाट सघाउने हो भने स्वदेश फ़र्किएका नेपालीहरुका लागि रोजगार सिर्जना गर्न त्यति गाह्रो हुने छैन। तर यसका लागि स्पष्ट भिजन, कार्य योजनाका साथै नेपालका संघीय, प्रदेश र स्थानीय सरकारहरु,  नेपालको निजी क्षेत्र तथा गैर आवासीय नेपाली संघबीच निकट सम्पर्क, समन्वय तथा सहकार्य हुन अनिवार्य छ।

यो अभियान अन्तर्गत इच्छुक प्रवासी नेपालीहरुलाई पांचसय देखि पांच हजार डलरसम्म नेपालको बैंकमा स्थानान्तर गर्न आग्रह गरिने छ।  उक्त रकम सुरक्षित रहने छ र लगानीकर्तालाइ प्रमाणपत्र दिइने छ।   शुरुको ३ वर्ष सो रकममा कुनै व्याज दिइने छैन, चौथो वर्ष उक्त रकम पुरै वा आंशिक रुपमा फिर्ता लग्न सकिने छ। यसरी हामीले नेपाल पठाएको रकमबाट हजारौं नेपालीले रोजगार पाउने छन् भने ३ वर्ष पछि हाम्रो रकम पनि फिर्ता आउने छ।  हामीले प्रदान गरेको रकम कुनै सामूहिक लगानीको रुपमा वा आयोजनामा लगानी गर्ने इच्छा लागेमा ३ वर्ष पछि त्यो पनि गर्न सकिन्छ । यदि  १०००,००० जना नेपालीले जनही कम्तीमा १,००० डलर लगानी गरेमा हामीसंग १० करोड डलर (अहिलेको दरमा झन्डै १२ अर्ब २० करोड ) रुपियाँ संकलन हुने छ।  यदि  २००,००० नेपालीले लगानी गरेमा हामीसंग २० करोड डलर (अहिलेको दरमा झन्डै २४ अर्ब ४० करोड ) रुपियाँ संकलन हुने छ।  उक्त रकम नेपालमा प्रमुख ब्यांकहरुमा उच्च ब्याज  दर आउने गरि निक्षेप गर्न सकिने छ। त्यसबाट आउने ब्याज प्रशासनिक खर्च, योजना निर्माण तथा प्राविधिक सहयोग उपलब्ध गराउन खर्च गर्न सकिने छ।

संचालन योजना

यो अभियान संचालनका लागि प्रदेश सरकारहरुसंग समन्वय गरी सातै प्रदेशमा संचालक समिति गठन गरिनेछ।  केन्द्रमा गठन हुने निर्देशक समितिमा नेपाल सरकारका प्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधि, प्रतिष्ठित  अर्थ शास्त्री, व्यवस्थापन विज्ञ तथा एनआरएनएका प्रतिनिधिहरु रहने छन्।  नेपालको प्रचलित कानून बमोजिम एक कम्पनी खडा गरी रकम संकलन गरिनेछ।  रकम भित्राउने नाममा मनि लंडरिङ्ग हुन नपाओस् भनेर सुनिस्चित गरिने छ। 

यो रकम लिन इच्छुक नेपाल फर्किएका प्रवासी नेपालीले आफ्नो परियोजनाको खाका सहित निवेदन दिनु पर्नेछ। परियोजना स्वीकृत भएमा परियोजना रकमको बढीमा ८० प्रतिशत सम्म निर्व्याजी ऋण दिइने छ। ऋण प्राप्त गर्नु हुने  सम्बन्धित व्यक्तिको धितो ग्यारेन्टी विदेशमा बसेका हामी नेपालीले दिन सक्ने अवधारणा पनि  बनाउनु पर्ने देखिन्छ।  

नेपाल फर्कने प्रवासी नेपालीहरुमा एकातिर श्रम गर्ने संस्कार हुन्छ भने अर्कोतिर केहि न केहि सीप पनि केका हुन्छन् ।  उनीहरुलाई केवल आवश्यक छ त उपयुक्त तालिम, प्रशिक्षण, उद्यम संचालन गर्न र बजारसम्म पहुँच पुराउन सहयोग।  गएको २,३ महिना हामीले नेपालमा उन्नत कृषि, चिया, कफी जस्ता नगदे बाली, पशुपालन,  साना तथा घरेलु उद्यम, पर्यटन तथा सेवा क्षेत्रमा नयाँ रोजगारीहरु सृजना गर्न सकिने बहस सुनेका छौं।  नेपाल सरकार र नेपालको निजि क्षेत्रसंग हातेमालो गरेर हामीले आगामी तीन वर्षमा हजारौं रोजगारी सृजना गर्न सक्छौं।  यो नेपालको पुनर्निर्माणमा गैर आवासीय नेपालीहरुको ठोस योगदान हुने छ ।

भूकम्पबाट पीडित नेपालीहरुको सेवाका लागि हामी सबै गैर आवासीय नेपालीहरु एकजुट भएर पुनर्निर्माणमा लागेको  भर्खरै ५ वर्ष पुरा भएको छ। त्यस्तै कोरोना संकटले रोजगारी गुमाएका र स्वदेश फ़र्किएका हाम्रै दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गरेर नेपालको पुनर्निर्माणमा सघाउने यो  ऐतिहासिक घडीमा हाम्रा अग्रजहरु तथा वर्तमान नेतृत्व वर्गको समेत संयोजनकारी भूमिका हुने छ भन्ने संसारभरी फैलिएका गैर आवासीय नेपालीहरुले विश्वास लिएका छन्।

म न त अर्थ शास्त्री हुं , न व्यवस्थापन विज्ञ। पोर्टर, सेफ हुंदै बेलायतजस्तो देशमा व्यवसाय चलाएको अनुभव र गएको १३ वर्ष देखि एनआरएन अभियानबाट मैले सिकेको ज्ञानको आधारमा मैले यस्तो प्रस्ताव गरेको हुं।  नेपाल तथा संसारभरि रहेका विज्ञहरुको सरसल्लाहका आधारमा यो प्रस्तावलाई अन्तिम रुप दिन र आवश्यक परे स्वयंसेवी रुपमा यो अभियानलाई अगाडी बढाउन  म तत्पर रहेको अनुरोध गर्दछु ।  विदेशमा बसीरहेका हामी सबैका लागि यो मातृभूमिको ऋण तिर्ने एक अवसर पनि हो । अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने?