केही सफलता लिगेसीमा सँगै आउँछन् । केही सफलताका लागि ठूलै सङ्घर्ष गर्नुपर्छ । बनिबनाउ जगमा इँटा थपेर अग्लो भएको पिलरको सफलताको खुसी अर्कै होला । तर आफैं जग हालेर अथवा भनौं आफैं इँटा थपेर उठाएको सफलतारुपी पिलरको खुसी त्योभन्दा दोब्बर हुन्छ । अझ बढी पो हुन्छ कि ?
त्यस्तै आफैं जग हालेर, सफलताको उचाइतर्फ इँटा थप्दै गएका व्यवसायी हुन्, कुल आचार्य । आचार्यको सफलतामा लिगेसी छैन । बरु सङ्घर्षले उनलाई छाडेको छैन ।
पर्वतको विकट गाउँ धाइरिङमा जन्मिएका आचार्य अहिले संसारका नेपालीमाझ चिनिएका छन् । आचार्यले दुई दशकदेखि बेलायतलाई आफ्नो दोस्रो घर बनाएका छन् । बेलायतदेखि नै आफ्नो सम्बन्धको नेटवर्कलाई नेपालीमाझ विश्वव्यापी बनाएका उनी त्यहाँको चर्चित रेस्टुराँ ‘होली काऊ’का सञ्चालक हुुन् । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष पनि हुन् ।
धाइरिङदेखि बेलायतसम्मको आचार्यको यात्रा सङ्घर्षमय छ । सामान्य परिवारमा जन्मेका आचार्यले बाल्यकालमा गाउँले दैनिकीमै सङ्घर्ष गर्नुपथ्र्याे । घरको जिम्मेवारी उनमा यति थियो कि १२ वर्षको उमेरमै उनको विवाह भयो । आफै टिनएजमा रहेर खेल्ने उमेरमा उनले घरको ठूलो छोरा र पतिको दोहोरो जिम्मेवारी निर्वाह गरिरहेका थिए । विवाह गरेको दुई वर्ष नपुग्दै उनकी श्रीमतीको मृत्यु भयो । र सानैमा शोकमा परे उनी ।


